काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण मान्यता प्राप्त जुनसुकै सरकारी अस्पतालबाट गर्न पाउने व्यवस्था गरेको छ।
मन्त्री दीपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले यो निर्णय गरेको हो। बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने जुनसुकै सरकारी स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यो व्यवस्थाले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई स्वास्थ्य परीक्षण गर्न थप सहज हुने भएको छ।
नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गर्नु सकारात्मक भएको बताएका छन्। तर निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गराएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया