काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ।
मंगलबारको बैठकमा नेताहरूले धारणा राख्ने क्रम अपूरो रहेकाले छलफललाई निरन्तरता दिन आज पुनः बैठक बोलाइएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन्। उनका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।
हिजोको नेपाली कांग्रेसको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कुल ११३ सदस्य रहेको उल्लेख गरेका थिए। आजको बैठकमा भने ७० भन्दा बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रको आन्तरिक गतिशीलता तथा हालै सम्पन्न निर्वाचनको समीक्षा लगायत विषयमा व्यापक छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया