काठमाडौं । नेपाल प्रहरीले बुधबार आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक पोस्टले व्यापक ध्यान आकर्षित गरेको छ। पोस्टमा राखिएको क्यूआर कोडसँगै ‘तपाईंविरुद्ध कुनै उजुरी परेको छ कि छैन, एकपटक स्क्यान गरेर जाँच गर्नुहोस्’ भन्ने सन्देश दिइएको थियो।

तर सर्वसाधारणले उक्त क्यूआर कोड स्क्यान गर्दा ‘अप्रिल फुल’ सन्देश देखिएको थियो। सन्देशमा ‘यो क्यूआर कोड केवल सचेतनामूलक अभियानका लागि हो। आज मजाक भयो, तर भोलि यस्तै माध्यमबाट तपाईं ठगीमा पर्न सक्नुहुन्छ’ भन्ने चेतावनी दिइएको थियो।

advertisement

साथै नेपाल प्रहरीले अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड स्क्यान नगर्न, स्क्यान गर्नुअघि त्यसको विश्वसनीयता पुष्टि गर्न र परिवारका सदस्यलाई समेत यसबारे जानकारी गराउन सुझाव दिएको छ।

डिजिटल ठगीका घटना बढिरहेका बेला अप्रिल फुललाई रचनात्मक रूपमा प्रयोग गर्दै यस्तो सचेतनामूलक अभियान सञ्चालन गरिएको हो। यस अभियानप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई समय सान्दर्भिक र प्रभावकारी सन्देश भन्दै प्रशंसा गरेका छन् भने कतिपयले आधिकारिक निकायबाटै झुक्याउने शैली अपनाउँदा जनविश्वासमा असर पर्न सक्ने टिप्पणी गरेका छन्।

यस विषयमा  कुरा गर्दै अबि नारायण काफ्लेले बदलिँदो प्रविधि र सामाजिक सञ्जालको ट्रेन्डअनुसार विशेषगरी युवा तथा ‘जेन–जी’ पुस्तालाई लक्षित गर्दै यस्तो पहल गरिएको बताए। ‘अपराध हुनुअघि नै सचेत गराउने उद्देश्यले हामीले नयाँ शैली अपनाएका हौं,’ उनले भने, ‘समाजले कस्तो सन्देश सहजै ग्रहण गर्छ भन्ने अध्ययनपछि यो अभियान अघि बढाइएको हो।’

उनका अनुसार प्रहरीले परम्परागत अनुसन्धानमा मात्र सीमित नरही ‘प्रोएक्टिभ पुलिसिङ’ अवधारणाअनुसार सम्भावित अपराध रोकथाममा जोड दिँदै आएको छ। यसअघि पनि प्रहरीले भ्यालेन्टाइन सप्ताहका अवसरमा साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।

डीआईजी काफ्लेले पछिल्लो समय प्रहरीका सामाजिक सञ्जालमा देखिएका सिर्जनात्मक सामग्रीहरू आफ्नै आन्तरिक विशेषज्ञ टोलीले तयार पार्ने गरेको जानकारी दिए। ‘हामीसँग एआईमा आधारित विश्लेषण टोली र सामाजिक सञ्जाल अनुगमन गर्ने छुट्टै डेस्क छ,’ उनले भने, ‘त्यही टोलीले ट्रेन्ड, युवा पुस्ताको सोच र नयाँ ठगी प्रविधिको अध्ययन गरेर यस्ता सामग्री तयार पार्छ।’

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com