काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटका दीपक थापालाई १२ हजार ६ सय अमेरिकी डलर सस्तोमा दिने प्रलोभन देखाएर ३ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनीहरूलाई प्रहरीले कलङ्कीस्थित नाग मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरीका २८ वर्षीय सुवास तामाङ (सरोज) र मकवानपुर थाहा नगरपालिकाका २७ वर्षीय गौरव स्याङ्तान (पासाङ) रहेका छन् ।

advertisement

प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले आफूहरू ट्रेकिङ वा भरियाको काम गर्ने व्यक्ति भएको नाटक गर्दै बाढीपहिरोमा डलर तथा अन्य विदेशी मुद्रा फेला पारेको भन्दै सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए । त्यसपछि सस्तोमा डलर दिने लोभ देखाई नगद रकम लिएपछि फरार हुने गरेको खुलेको छ ।

प्रहरीले उनीहरूको साथबाट ५ थान सिम कार्ड र ३ थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये सुवास तामाङ पुरानो आपराधिक पृष्ठभूमि भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी यसअघि २०७१ सालमा घर चोरी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट कैद र जरिवानाको सजाय भोगिसकेका छन् । साथै, उनी चार पटकसम्म मोटरसाइकल चोरी मुद्दामा समेत पक्राउ परिसकेको तथ्य खुलेको छ ।

दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com