काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई जनताको आशाको दियो बन्न सुझाव दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा दलीय धारणा राख्दै शाहीले सरकारलाई चेतावनीसमेत दिएका छन् कि यदि यो दीपक डढेलो बन्न खोज्यो भने त्यसलाई निभाउन पार्टीसँग सामर्थ्य छ।
सांसद ज्ञानेन्द्र शाहीले भने, ‘विगतका कमजोरी दोहोरिन नपरोस् र जनताको आवाज सुन्ने शासन सञ्चालन होस्। सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दीपक बन्नुपर्छ। त्यो दीपक जोगाउनु हाम्रो परम कर्तव्य हो।’
उनले थपे, ‘हामी यो दीपक जोगाउँछौँ। तर यदि दीपक डढेलोमा परिणत हुने प्रयास गर्छ भने त्यसलाई नियन्त्रण गर्ने र निभाउने साहस हामीसँग छ र आवश्यक परे गरिनेछ।’
सांसद शाहीले सरकारलाई आवश्यक परे राप्रपाले दुई तिहाइ अंक जुटाउन सहयोग गर्ने संकेत पनि दिएका छन्। उनले प्रदेश खारेज र संवैधानिक राजतन्त्रसम्बन्धी संविधान संशोधन जस्ता विषयमा सरकारले पहल गरे आफूहरू सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया