एजेन्सी । कुवेतस्थित मिना अल–अह्मदी तेल प्रशोधन केन्द्रमा इरानले ड्रोन मार्फत आक्रमण गरेको पुष्टि भएको छ। कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले शुक्रबार बिहान यस घटनाको जानकारी दिँदै यसलाई ‘दुष्ट ड्रोन हमला’ भनेको छ।
आक्रमणका क्रममा कुनै कर्मचारी घाइते नभएको र आगलागी तत्काल नियन्त्रणमा आएको केपीसीले जनाएको छ। मिना अल–अह्मदी रिफाइनरीका ३९ सञ्चालन इकाइमध्ये केहीमा आगो फैलिएको भए पनि आपत्कालीन टोलीले तुरुन्त नियन्त्रणमा ल्याएको छ। साथै, आगलागीको समयमा नजिकबाट हावापानी गुणस्तरको अनुगमन गरिएको र वातावरणमा अहिलेसम्म कुनै नकारात्मक प्रभाव नदेखिएको कम्पनीले जनाएको छ।
कुवेतस्थित मिना अल–अह्मदी रिफाइनरी पश्चिम एसियाका सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमध्ये एक हो र दैनिक ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्दछ।
कुवेतमा तीनवटा प्रमुख तेल प्रशोधन केन्द्र रहेका छन्। विगत पाँच हप्तादेखि जारी क्षेत्रीय द्वन्द्वमा सो रिफाइनरी इरानी ड्रोनद्वारा यसअघि पनि दुई पटक आक्रमणको शिकार भइसकेको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया