काठमाडौं । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाखभन्दा बढी रकम अनियमित रूपमा दुरुपयोग गरिएको आरोप लागेको हो।
उक्त प्रकरणमा समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री तथा सदस्य हरिप्रसाद अधिकारीलगायतले आपसी मिलेमतोमा कोषको रकम हिनामिना गरेको अभियोग लगाइएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको अवधिमा समितिको निर्णयबिना रकम खर्च गर्ने, नक्कली कागजात तयार गरी भुक्तानी गर्ने, कार्ययोजना विना सडक निर्माणमा खर्च देखाउने र लेखापरीक्षण नै नगरी शुल्क भुक्तानी गरेको विवरण पेश गरिएको पाइएको छ।
त्यस्तै, काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा जम्मा नगरी विभिन्न शीर्षकमा अपारदर्शी रूपमा खर्च गरिएको, नर्सरी व्यवस्थापन, वन मुद्दा, अधिवक्ता शुल्क तथा साक्षी खर्चका नाममा प्रमाणबिना ठूलो रकम निकासा गरिएको पनि अख्तियारले जनाएको छ।
अख्तियारले अध्यक्ष दानीले व्यक्तिगत प्रयोजन—जस्तै बसाइँ सर्दा तथा व्यक्तिगत जरिवाना तिर्न—समितिको रकम प्रयोग गरेको समेत उल्लेख गरेको छ।
उक्त पाँच जनाले मिलेमतोमा १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको रकम हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अनुसन्धानका क्रममा विभिन्न शीर्षकमा बिल तथा प्रमाणबिना ५ लाख १७ हजार ५०० रुपैयाँ खर्च देखाइएको, वन मुद्दासम्बन्धी कार्यमा अधिवक्तालाई ३ लाख रुपैयाँ भुक्तानी गरिएको देखाई कोषको रकम दुरुपयोग गरिएको तथा मुद्दा र साक्षी खर्चका नाममा थप २ लाख ८५ हजार रुपैयाँ खर्च देखाइएको पाइएको छ।
यसैगरी, अध्यक्षले वीरेन्द्रनगर बसाइँको नाममा ४१ हजार १६२ रुपैयाँ लिएको, व्यक्तिगत जरिवाना तिर्न ५१ हजार ४८५ रुपैयाँ प्रयोग गरेको र विभिन्न सामग्री खरिद गर्दा कानुनी रूपमा आवश्यक बिल तथा प्रमाण संलग्न नगरी २३ हजार ३६५ रुपैयाँ भुक्तानी गरिएको पनि अख्तियारले जनाएको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया