काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई खुलापत्र लेख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको हिरासतप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

पत्रमार्फत उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुका साथै, ७४ वर्षीय वृद्ध र शारीरिक रूपमा अस्वस्थ ओलीलाई कुनै कानुनी परीक्षण बिना नै थुनामा राखिएको व्यवहार राजनीतिक र मानवीय दृष्टिले अस्वीकार्य भएको बताएका छन्।

advertisement

गौतमले आफ्नो पत्रमा गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको, १९ जनाको मृत्युपछि उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको उल्लेख गरेका छन्। उनीकाअनुसार, ओलीको राजीनामा, प्रतिनिधिसभा विघटन, सुशीला कार्कीको मनोनयन र फागुन २१ को निर्वाचनसम्मका प्रक्रियामा पनि ओलीको सकारात्मक योगदान रहेको थियो।

तर हाल ओलीलाई कुनै ठोस प्रमाण वा कानुनी प्रक्रिया बिना एकाबिहानै घर घेराउ गरी पक्राउ गर्नु लोकतान्त्रिक अभ्यास विपरित भएको गौतमको तर्क छ। पूर्वगृहमन्त्री समेत रहेका गौतमले पत्रमा लेखेका छन्, ‘कानुनी राज्यमा आरोप प्रमाणित नहुँदासम्म कसैमाथि कारबाही हुँदैन। मृत्युदण्ड हुने देशमा समेत दोषीको अन्तिम इच्छा सोधिन्छ, तर यहाँ परीक्षण नगरी रातारात पक्राउ गर्ने शैली अपनाइएको छ।’

गौतमले वर्तमान सरकारलाई आग्रह गरेका छन् कि वृद्ध र अस्वस्थ राजनीतिक व्यक्तित्वलाई यस्तो मानसिक तथा शारीरिक दबाब नपार्ने व्यवस्था मिलाइयोस्। साथै उनले प्रधानमन्त्री बालेन शाहको कार्यकाल सफल र न्यायपूर्ण ढङ्गले अघि बढोस् भनी शुभकामना दिएका छन्।

उनले लेखेका छन्,

सम्मननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलीजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।

यस वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंसको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यु भयो । त्यसपछि अरू धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भङ्ग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रूपमा भूमिका निर्वाह गर्नुभयो ।

आज तपाई नेपालको ४३ औँ प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।

प्रधानमन्त्रीज्यू,

म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकार समक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो ।

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो । त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।

अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

वामदेव गौतम

– पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

– केन्द्रीय सदस्य, नेपाली कम्युनिस्ट पार्टी 

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com