काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमालेका तर्फबाट युवा संघ नेपालका नेता वकिल बमको पक्राउप्रति कडा आपत्ति जनाएका छन्।
वकिल बमलाई गएराति करिब १० बजेतिर सादा पोशाकमा आएका ४–५ जना प्रहरीले ‘केही समयका लागि’ भन्दै नियन्त्रणमा लिएर कालिमाटी प्रहरी वृत्तमा राखिएको हो। बस्नेतले उक्त पक्राउ बिना कुनै स्पष्ट कारण, उजुरी वा प्रमाण नभएको भन्दै कानुनी शासनमाथि आघात भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएको आधारमै ‘गुन्डागर्दी’को आरोप लगाएर पक्राउ गर्नु नागरिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। साथै, यस घटनामा राजनीतिक उद्देश्य लुकेको संकेत देखिएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरेका छन्।
यसैबीच, नेपाल प्रहरीले देशभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत गुण्डागर्दी, बिचौलियापन र अभद्र व्यवहारजस्ता गतिविधिमा संलग्न रहेको आरोपमा चार दिनभित्र २ सय २६ जनालाई पक्राउ गरिएको जनाएको छ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा पक्राउ गरिएको हो।
प्रहरीको विवरणअनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१, कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका थिए।
त्यस्तै, २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ जना पक्राउ परेका छन् भने २१ गते मात्रै काठमाडौँ उपत्यकाबाट ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया