काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे २ बजे आयोजना हुनेछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई शपथ गराउने कार्यक्रम छ ।
यसअघि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । प्रस्तावमाथि छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार बसेको बैठकबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही अनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्याल यसअघि दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका छन् । पहिलो पटक वि.स. २०७९ माघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो अवधिका लागि मन्त्री बनेका उनी पछि पुनः उक्त मन्त्रालय सम्हालेका थिए ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित अर्याल रास्वपाको उपसभापतिको रूपमा सक्रिय थिए । सर्वोच्च अदालतले पार्टी अध्यक्ष रवि लामिछाने को नागरिकता मुद्दामा फैसला गरेपछि उनी केही समय कार्यवाहक अध्यक्षको भूमिकामा पनि रहेका थिए ।
धादिङमा सामान्य परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी तथा रेमिटेन्स क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । पछिल्लो निर्वाचनमा काठमाडौं–९ बाट प्रत्यक्ष निर्वाचित हुँदै उनी संघीय संसद्मा पुगेका हुन् ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया