काठमाडौं। राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापनमा क्रमिक सुधार देखिन थालेको छ । बढ्दो सवारी चाप, साँघुरा सडक र कमजोर ट्राफिक अनुशासनका बाबजुद पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनबाट केही सकारात्मक परिवर्तन ल्याएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले विगतको तुलनामा अहिले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार भएको बताए ।

advertisement

उनले ट्राफिक प्रहरीलाई थप अनुशिक्षण, जनचेतनामूलक कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी दिए ।

ट्राफिक सप्ताह, विद्यालय–केन्द्रित कार्यक्रम, चालक तथा मजदुर शिक्षा र समुदायस्तरको ट्राफिक अवेयरनेस कार्यक्रमले पनि सडक प्रयोगकर्तामा नियमप्रति सचेतना बढाएको उनको भनाइ छ ।

शून्य सहनशीलता नीति

ट्राफिक नियम उल्लंघनमा प्रहरीले ‘शून्य सहनशीलता’ नीति अपनाएको छ । लेन अनुशासन तोड्ने, ट्राफिक लाइट उल्लंघन गर्ने, ओभरस्पिड, मापसे र ड्रग्स सेवन गरेर सवारी चलाउनेहरूलाई कडाइका साथ कारबाही गरिँदै आएको छ । प्रहरी कर्मचारीहरूलाई सडकमा नै खटाएर नियम कार्यान्वयन गर्ने रणनीति अपनाइएको छ ।

प्रविधिको बढ्दो प्रयोग

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन एएनपीआर क्यामेरा, सीसीटिभी, राडार गन र ब्रेथलाइजर जस्ता आधुनिक प्रविधिको प्रयोग बढाइएको छ ।

यसले ‘अनस्पट कारबाही’ लाई पनि सहज बनाएको छ ।

कारबाही घट्नु सकारात्मक संकेत

पछिल्लो समय ट्राफिक कारबाहीको संख्या घट्दो क्रममा रहेको छ ।

अधिकारीले यसलाई कमजोरी नभई सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।

उनले भने, “कारबाही घट्नुको अर्थ नियम उल्लंघन पनि घट्दै गएको हो ।

हाम्रो लक्ष्य जरिवाना उठाउनु होइन, सडक अनुशासन कायम गर्नु हो ।”

यद्यपि गम्भीर र पटक–पटक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स खारेजका लागि सिफारिस गर्ने नीति पनि लागू गरिएको छ ।

पूर्वाधार र समन्वय

ट्राफिक लाइटको संख्या ४२ बाट बढाएर ५३ पुर्‍याइएको छ । किप क्लियर क्षेत्र, स्टप लाइन, रोड मार्किङ र लेन व्यवस्थापनलाई पनि सुधार गरिएको छ ।

महानगरपालिका र यातायात व्यवस्था विभागसँग समन्वय गर्दै पिक एण्ड ड्रप स्टेसन व्यवस्थापन र एकीकृत बसपार्क प्रणाली लागू गर्ने योजना अघि बढाइएको छ ।

चुनौतीहरू

सुधारका प्रयासबीच पनि चुनौती भने कायमै छन् ।

सवारी साधनको तीव्र वृद्धि, सडक पूर्वाधारको कमी, दुईपाङ्ग्रे सवारीको अनियन्त्रित प्रयोग, अव्यवस्थित पार्किङ र सार्वजनिक सवारीको लापरवाही मुख्य समस्या रहेका छन् ।

ट्राफिक प्रहरी प्रमुख अधिकारीले नागरिकको व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै भने, “आकासे पुल हुँदाहुँदै सडकबाट बाटो काट्ने, हेल्मेट नलगाउने, मोडिफाइड बाइक चलाउने प्रवृत्ति अझै कायम छ ।”

बाइक चोरी पनि चिन्ताको विषय बनेको छ । भदौदेखि चैतसम्म १७३६ वटा मोटरसाइकल चोरी भएका छन् ।

समग्रमा, प्रहरीको प्रयास, प्रविधिको प्रयोग र जनचेतना अभियानले ट्राफिक अनुशासनमा सुधार ल्याए पनि दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास, नीति कार्यान्वयन र नागरिकको जिम्मेवारीपूर्ण सहभागिता अपरिहार्य रहेको देखिन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com