काठमाडौं। वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन अब केवल वातावरणीय समस्या नभएर गम्भीर आर्थिक तथा सामाजिक संकटको रूपमा देखा परेको बताएकी छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तन ले मानव अधिकार र समग्र विकास प्रक्रियालाई नै प्रत्यक्ष असर पारिरहेको बताइन् ।

advertisement

उनले नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार बेहोर्नुपरेको यथार्थ प्रस्तुत गरिन् । मन्त्री चौधरीले हिमनदी पग्लने दर बढ्नु, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरी जस्ता घटनाहरू बढ्दै गएको उल्लेख गर्दै यी विपत्तिले कृषि, पर्यटन, पूर्वाधार र जनजीवनमा ठूलो असर पारिरहेको बताइन् ।

मन्त्री चौधरीले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस गरिसकेको जानकारी दिइन् । तर, दस्तावेज तयार गर्नु मात्र पर्याप्त नभई अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

“जलवायु संकटको समाधान एक्लो प्रयासबाट सम्भव छैन,” मन्त्री चौधरीले भनिन्, “तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीच घनिष्ट सहकार्य आवश्यक छ ।”

उनले वन क्षेत्र संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय जगतले प्रशंसा गरेको उल्लेख गर्दै वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइन् । मन्त्री चौधरीले सरोकारवालाहरूलाई जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा सक्रिय रूपमा लाग्न आग्रह गरिन् ।

 

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com