काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध उनकी पूर्वपत्नी तथा पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दर्ता गराएकी छन्।
सोमबार दर्ता गरिएको उक्त उजुरीमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयासलगायतका आरोप उल्लेख गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार उजुरी प्राप्त भइसकेको छ र आवश्यक प्रक्रिया अघि बढाइएको छ। परिसरका सूचना अधिकारीले पनि घटनाबारे अनुसन्धान सुरु हुने जानकारी दिएका छन्।
यसअघि गत चैत १७ गते पूर्व मिस नेपाल उषा खड्गीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै राज्यसँग सुरक्षा र न्यायको माग गरेकी थिइन्। उनले सोही क्रममा प्रहरी र प्रशासनमा उजुरी दिने संकेत समेत गरेकी थिइन्। साथै, अंशवण्डासम्बन्धी विवाद उठाउँदै आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने र व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्न आग्रह गरेकी थिइन्।
२०७९ साल जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट उषा खड्गी र जीपी तिमल्सिनाबीच सम्बन्धविच्छेद भएको थियो। त्यसपछि अंशवण्डाको विषय टुंगो नलाग्दै सोही वर्ष मंसिर १९ गते जीपी तिमल्सिनाले सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया