काठमाडौं। राष्ट्रिय सभा सदस्य सुनिल थापाले संविधान संशोधनको विषयमा नेपाली कांग्रेस खुला र तयार रहेको स्पष्ट पार्दै समयानुकूल, समावेशी र सबै वर्ग–समुदायको आकांक्षा समेट्ने संविधान आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले २००७ सालदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलनको निरन्तर संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई अझ परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे। उनले संविधान संशोधन गर्दा सबै जनजाति, जातीयता, युवा, मधेस, दलित लगायतका समुदायको भावना समेटिनुपर्नेमा जोड दिए।
थापाले लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका सहिद परिवारप्रति समान सम्मान र व्यवहार हुनुपर्ने उल्लेख गर्दै सरकारले उनीहरूलाई एकरूपमा सम्मान गर्ने नीति लिनुपर्ने बताए।
उनले राष्ट्रिय सभाले नयाँ आउने ऐन, कानुन तथा विधेयकहरूलाई अवरोध नगर्ने स्पष्ट पार्दै जिम्मेवार भूमिकासहित राष्ट्र निर्माण र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। “हामी राम्रो विधेयकहरूमा रचनात्मक सहयोग गर्नेछौं,” उनले भने।
सूचनाको पारदर्शितामाथि प्रश्न उठाउँदै थापाले “हामी सूचना अधिकारबाट वञ्चित त भएका छैनौं?” भनी प्रश्न गरे। उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन छिटोभन्दा छिटो संसदमा पेश गर्न माग गरे।
आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले आर्थिक क्षेत्रलाई गतिशील बनाउन नयाँ–नयाँ कानुनहरू ल्याउनुपर्नेमा जोड दिए।
थापाले समावेशी संविधान, पारदर्शिता, सुशासन र आर्थिक विकासलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया