काठमाडौं । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्। रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादवको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको हो। उनको हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनापछि प्रहरीले यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो। तर, उनीहरू नरोकी भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो।
प्रहरीका अनुसार भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्दै थप दुई राउण्ड गोली चलाएको थियो, जसक्रममा विशाल यादव घाइते भएका हुन्।
घटनापछि प्रहरीले घाइते यादवसहित भारत महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा फेनारगन, डाइजेपाम र ब्रुफिनका ११००/११०० एम्पुल बरामद भएको डीएसपी चन्दले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया