तेल अभिभ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारिएको दाबी गरेका छन् ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को आर्थिक स्रोतलाई क्रमिक रूपमा नष्ट गरिरहेको उल्लेख गरेका छन् ।
यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले छुट्टै वक्तव्य जारी गर्दै इरानका दुई ठूला पेट्रोकेमिकल कम्प्लेक्समा आक्रमण गरेको र त्यसले इरानको ८५ प्रतिशतभन्दा बढी पेट्रोकेमिकल निर्यात क्षमतामा असर पारेको जनाएको छ ।
आईडीएफका अनुसार असलुयेहमा रहेको एक स्थललाई इरानी मिसाइल उद्योगका लागि महत्वपूर्ण कम्पोनेन्ट उत्पादन गर्ने केन्द्रको रूपमा प्रयोग गरिँदै आएको थियो ।
इजरायली रक्षा मन्त्रीले पनि असलुयेहस्थित इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल सुविधामा शक्तिशाली आक्रमण भएको पुष्टि गर्दै उक्त प्लान्ट अब सञ्चालनमा नरहेको बताएका छन् । यो आक्रमणले इरानको अर्थतन्त्र र युद्ध क्षमतामा ठूलो धक्का पुगेको इजरायली पक्षको दाबी छ ।
यो घटना मध्यपूर्वमा जारी द्वन्द्वबीच भएको हो । इरानी पक्षबाट भने अझै आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया