काठमाडौं । युद्धको प्रभावका कारण इन्धन संकट बढेको भन्दै सरकारले नागरिक तथा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ। विश्व बजारमा इन्धनको मूल्य वृद्धिसँगै नेपालमा इन्धनको खपत नियन्त्रण र मूल्य स्थिरीकरणका लागि यो कदम चालिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिक र सरकारी कर्मचारीलाई घरबाट काम गर्न आह्वान गरेकी छिन्। बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। सो निर्णयको सूचना राजपत्रमा प्रकाशित गरिनेछ।
मन्त्री रावलले भनिन्, ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ। यसलाई मध्यनजर गर्दै नेपालमा केही राहत दिने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। मूल्य समायोजन आवश्यक छ र सरकारले यसलाई लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन व्यवहारिक देखिएको हो।’
उनले थपिन्, ‘इन्धन खपत नियन्त्रणका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सुरु हुने व्यवस्था, थोक विक्रीमा नियन्त्रण, उच्चपदस्थ कर्मचारीको इन्धन कोटा कटौती गरिसकिएको छ। आवश्यक परे जोर–बिजोर प्रणाली पनि लागू गरिनेछ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गर्दछ।’
मन्त्री रावलका अनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय सवारी साधनको व्यवस्थापन र पूर्वाधार विस्तारमा पनि काम गरिरहेको छ। इन्धन विकल्पका रूपमा इथानोल प्रयोग र नीति तयारी पनि अघि बढाइँदैछ।
उनले सरकार पारदर्शी रहेको, जनताको पीडा बुझ्ने र सत्य नलुकाउने प्रतिबद्धतामा रहेको समेत स्पष्ट पारेकी छिन्।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया