काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी र कर्मचारीमा देखिएको मनोसामाजिक समस्या विकराल रहेको बताउँदै यसप्रति संवेदनशील हुन आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद धितालले मानसिक स्वास्थ्य समस्यालाई नजरअन्दाज गर्ने वा लुकाउने प्रवृत्ति रहेको भन्दै संसदको ध्यानाकर्षण गराइन् ।

advertisement

उनले भनिन्, “हामीमध्ये जोकोही मनोसामाजिक समस्या का शिकार हुन सक्छौं, म पनि हुन सक्छु । व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा वा समस्या परिभाषित हुँदैन ।”

सांसद धितालले जेनजी आन्दोलनले देशलाई ठूला सफलता दिएको उल्लेख गर्दै भनिन्, “यो आन्दोलनको देनले आज संसद् र सरकारमा ठूलो परिवर्तन देखिएको छ । तर सफलतामात्रै नहेरौं, आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी र कर्मचारीहरूले भोगिरहेको मानसिक स्वास्थ्य समस्यालाई पनि नजरअन्दाज नगर्नुस् ।”

उनले परिवारले समेत मानसिक समस्या झेल्नेहरूलाई पर्याप्त ध्यान र सहयोग दिन नसकेको बताउँदै ठूलो संख्यामा साइको सोसल काउन्सिलर (मनोसामाजिक परामर्शदाता) को खाँचो रहेको औंल्याइन् ।

“तीनै तहका सरकारले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर एजेन्डा बनाऊन् । नीति निर्माण गर्दा मनोसामाजिक परामर्शदाताहरूका माग सम्बोधन होऊन्,” सांसद धितालको माग छ ।

यो विषयलाई लिएर संसद् र सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com