काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नाे असन्तुष्टि पोखेका छन् ।
बालेन र लामिछाने दुवैले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गरेनन् । काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट लामिछानेले मतदान गरेका छन् । प्रदेश उम्मेदवारलाई मत नदिएकोबारे प्रतिक्रिया जनाउँदै लामिछानेले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेशसभा सदस्यको चुनावमा आफू सहभागी नहुने पनि बताएका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेन पनि प्रदेशसभातर्फका मतपत्र नबुझेरै बाहिरिए । उनी बलियो स्थानीय तह भएपछि प्रदेश संरचनालाई निरन्तरता दिन जरुरी छैन भन्ने धारणा राख्छन् ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे बालेन प्रस्ट नभएको आरोप स्थानीय तह निर्वाचनअघि नै थियो । आइतबार प्रदेशसभा सदस्यलाई मत नदिएर उनले प्रदेश संरचनाप्रतिको अरुचिलाई प्रकट गरेका छन् । उनी सरासर मतदान केन्द्र गए । उम्मेदवारका प्रतिनिधिसँग हात मिलाए । प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक मतपत्र लिएर मतदान गरे । अनि, सरासर बाहिरिए ।
प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार
प्रतिक्रिया