काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने तय भएको छ।
कार्यदलमा विभिन्न दलका प्रतिनिधिहरू समावेश गरिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले)बाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाबाट संविधानसभा सदस्य तथा पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।
यद्यपि, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हालसम्म आफ्ना प्रतिनिधि चयन गरिसकेका छैनन्। ती दलहरूमा यस विषयमा आन्तरिक छलफल जारी रहेको र सम्भवतः आजै प्रतिनिधि टुंगो लाग्ने नेताहरूले बताएका छन्।
यसैगरी, कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा समावेश छन्।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीलाई दिइएको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया