काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् संसदीय दल नेता रामबहादुर थापा बादलले चैत १९ गते संसदमा दिएको अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थीलाई बाहिर ल्याइदिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा बुधबार पोखरामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै बादलले आफूले सदनमा पार्टीकै लाइन बोलेको तर पार्टीभित्रका दक्षिणपन्थीहरू त्यसबाट तरंगित भएको बताएका हुन्।
‘पार्टीको उपाध्यक्षले एउटा सार्वजनिक स्टेटमेन्ट उहाँले जारी गर्नुभयो कि दल नेताले त्यहाँ जुन धारणा राख्नुभयो, संसदमा, त्यो पार्टीका स्थापित मान्यता विपरीत छ। त्यसमा घोर आपत्ति छ। यो बारेमाचाहिँ सचिवालयको बैठक राखेर चाहिँ उपयुक्त निर्णय लिइने छ भनेर,’ उनले उपाध्यक्ष विष्णु पौडेललाई लक्षित गरेर भने।
‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ बादलले सदनमा सम्बोधनका क्रममा भनेका थिए।
पार्टीको नीतिविपरीत धारणा राखेको भन्दै उपाध्यक्ष पौडेलले आपत्ति जनाएका थिए।
‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ उनले भनेका थिए।
भोलिपल्टै सचिवालयको बैठक राखेर एमालेले बादलको अभिव्यक्ति सच्याएको थियो। सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउँदै नेपाली सेना, कर्मचारीतन्त्रप्रति एमालेको वैरभाव नरहेको निष्कर्ष निकालेको थियो।
’बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
आज पोखरामा बाललले आफूले सदनमा बोलेपछि एमालेभित्र पैदा भएको हलचललाई अन्तरसंघर्षको नाम दिए।
‘यहाँ हेर्नुहोस् है अन्तरसंघर्षको स्थिति कस्तो छ, मान्छेहरूचाहिँ त्यो वक्तव्य उत्तेजित भए,’ उनले भने, ‘भित्र लुकेका थिए, बाहिर देखिए। त्यो स्टेटमेन्टलेचाहिँ पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई चाहिँ एक्सपोज गरेको मात्रै हो, त्यो। कन्फ्युज भएको होइन। त्यो कन्फ्युजनलाई चाहिँ प्रष्ट पार्न स्टेटमेन्ट (सदनमा अभिव्यक्ति) दिइएको हो,’ उनले भने।
आफूले सदनमा जे बोलेको हो। जे स्टेटमेन्ट दिइएको हो, त्यो पार्टीको लाइन अनुसार नै भएको उनको आज पनि जिकिर थियो।
‘पार्टीको निर्णयलाई लागू गरेको मैले। बोल्डले.. दृढतापूर्वक लागू गरेको मैले। त्यो वास्तवमा, देश र जनताको दुस्मनहरूलाई बोल्डली (कडा तरिकाले) प्रहार गरिको थियो। ठूलो आक्रमण गरेको हो त्यसदिन,’ उनले भने।
त्यसदिनको अभिव्यक्ति दक्षिणपन्थीहरूलाई र पार्टीभित्र लुकेका दक्षिणपन्थीहरूलाई पनि आक्रमण भएको उनको तर्क छ। ‘त्यो स्टेटमेन्टले भित्रका र बाहिरका दक्षिणपन्थी एक्सपोज भए। यो चाहिँ पार्टीको लाइन त्यहाँ बोलिएको थियो,’ उनले भने।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया