काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी घटनाको निष्पक्ष छानबिन गर्न सरकार असफल भए जिम्मेवारी आफूहरूलाई दिन माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले छानबिन गर्न नसके आफूहरूले तथ्यमा आधारित अर्को प्रतिवेदन तयार गर्ने बताइन्।
उनले कार्की आयोगको प्रतिवेदन तथा त्यसमा संलग्न व्यक्तिहरूले सामाजिक सञ्जालमा राखेका अभिव्यक्तिहरू नै विवादास्पद रहेको टिप्पणी गरिन्।
भदौ २४ गतेका घटनाका प्रमाणहरू जनताकै हातमा सुरक्षित रहेको उल्लेख गर्दै उनले सत्य बाहिर ल्याउन पुनः छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
‘यदि फेरि छानबिन आयोग गठन गर्नुपर्छ भने गरियोस्, हामी पूर्ण सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘सरकारले गर्न नसके हामीलाई जिम्मा दिइयोस्, हामी सत्यतथ्यसहितको अर्को रिपोर्ट सार्वजनिक गर्छौं।’
सिद्धिकीले गहिरो छानबिन भए संसद्भित्रकै केही व्यक्तिहरू पनि उक्त घटनामा संलग्न देखिन सक्ने दाबी गरिन्।
साथै, उनले बालेन नेतृत्वको सरकार शक्तिको दुरुपयोगतर्फ उन्मुख भएको आरोप लगाउँदै पछिल्ला नियुक्तिहरूमा देखिएको तालमेल अस्वाभाविक रहेको बताइन्। उनले प्रश्न गरिन्—सरकार सुशासनतर्फ केन्द्रित छ कि शक्ति प्रदर्शनमै अल्झिएको छ?
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया