काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई उपचाररत अवस्थामै अस्पतालबाट परिवारको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार अब उनको स्वास्थ्य अवस्था कस्तो रहन्छ भन्ने आधारमा चिकित्सकको सिफारिसअनुसार थप निर्णय गरिनेछ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए।
यसबीच उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत ले चैत २३ गते साँझभित्र ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्धको अनुसन्धान चैत २६ भित्र सम्पन्न गर्न आदेश दिएको थियो। तोकिएको समयभित्र अनुसन्धान टुंगोमा नपुगे शर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो।
प्रहरीले अदालतको आदेशअनुसार ओलीलाई रिहा गरेपछि उनलाई लिन उनकी पत्नी राधिका शाक्य अस्पताल पुगेकी थिइन्।
यसैबीच, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनलाई हाल नेपाल प्रहरीको महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया