काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीव्र गतिमा अघि बढेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको जानकारी दिएका छन् ।

उनले लाइसेन्स छपाइ लाई उच्च प्राथमिकतामा राखिएको बताउँदै हालसम्म छपाइ बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको बताए ।

advertisement

यसमा आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने र बाँकी १७ लाखको प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइमा कुनै अवरोध नआउने गरी छिटोभन्दा छिटो काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तयार पारेको १० प्रमुख सुधारात्मक कार्यक्रमको विस्तृत कार्ययोजनामा पनि यो विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना लागू गरिएको हो ।

यसैबीच, सेवाग्राहीलाई थप सहजता प्रदान गर्न यातायात व्यवस्था विभागले दैनिक छपाइ भएका तथा वितरण हुने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ ।

यसले ग्राहकहरूलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सजिलै जानकारी लिन मद्दत पुग्ने छ ।

छपाइ सम्पन्न भएका लाइसेन्सहरूलाई हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका यातायात कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ ।

यो प्रक्रियाले वितरणलाई पनि थप व्यवस्थित बनाएको छ ।

यही गतिमा काम जारी रहेमा लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरण समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com