काठमाडाैं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदमुक्त गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री दीपककुमार साह को कार्यसम्पादनप्रति असन्तुष्टि बढेपछि उनलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी अघि बढाइएको हो। स्रोतले जनाएको छ कि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रियामा श्रम मन्त्रालयमा परिवर्तन गर्न लागिएको छ।
महोत्तरी–२ बाट निर्वाचित सांसद साह हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले मन्त्रीको जिम्मेवारी सम्हालेको आज १४ दिन पुगेको छ, र आजै पदबाट हटाउने सम्भावना रहेको बताइएको छ।
शैक्षिक रूपमा साहले बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूबाट उच्च शिक्षा हासिल गरेका छन्। उनले लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पिएचडी अध्ययनरत छन् भने लन्डन स्कूल अफ इकोनोमिक्स बाट हेल्थ पोलिसी, प्लानिङ तथा फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। साथै, उनले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थ, अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी पूरा गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत रहेका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया