काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएको औपचारिक सूचना प्राप्त भएसँगै राष्ट्रपति कार्यालयल मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार मन्त्री साहलाई पदबाट हटाएपछि सो निर्णयको जानकारी राष्ट्रपति कार्यालयमा पठाएका थिए। त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साहले पदीय मर्यादा विपरीत आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोही दिन मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सँगै रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने भएका छन्।
अन्य १३ मन्त्री भने यथावत् आफ्नो जिम्मेवारीमा कायम रहेका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया