काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भएको कारबाहीलाई लिएर कानुनी र राजनीतिक संघर्ष निरन्तर अघि बढाउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रमेश लेखकले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा अपूर्ण भन्दै अस्वीकार गरेका छन्। सोही प्रतिवेदनका आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाई १३ दिनसम्म हिरासतमा राखिएको उल्लेख गर्दै अन्ततः आफू रिहा भएको बताएका छन्।
लेखकले आफू सधैं कानूनको सम्मान गर्ने र न्यायिक प्रक्रियामा विश्वास राख्ने व्यक्ति भएको स्पष्ट पार्दै बाँकी लडाइँ कानुनी र राजनीतिक दुवै तहमा जारी रहने जनाएका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरेका छन्।
आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति कृतज्ञता प्रकट गर्दै उनले आगामी दिनमा सत्य र न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमनसँग सम्बन्धित आरोपमा उनलाई चैत १४ गते पक्राउ गरिएको थियो। पछि सर्वोच्च अदालतको परमादेशपछि उनी बिहीबार रिहा भएका हुन्।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया