काठमाडौं । औषधिको मूल्य वृद्धि विवादपछि औषधि व्यवस्था विभाग का महानिर्देशक नारायणप्रसाद ढकाललाई जिम्मेवारीबाट हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा तानिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता को निर्णयअनुसार उनलाई बिहीबार राति मन्त्रालयमा सरुवा गरिएको हो।
औषधिको मूल्य वृद्धि अस्वाभाविक रूपमा बढाइएको भन्ने गुनासोपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ले यस विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार स्वास्थ्य सचिव विकाश देवकोटा लाई तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न भनिएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा सात दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ। निर्देशनमा औषधि मूल्य निर्धारण प्रक्रिया, मूल्य वृद्धिको कारण र सम्भावित अनियमिततामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रतिवेदन बुझाउन भनिएको छ।
यसअघि पनि अनधिकृत रूपमा औषधिको मूल्य बढाइएको भन्दै प्रतिनिधि सभा मा विषय उठेको थियो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद राजीव खत्री ले औषधि मूल्य वृद्धिमा ठूलो आर्थिक अनियमितता भएको आशंका व्यक्त गरेका थिए।
उनले महालेखा परीक्षकको कार्यालय को प्रतिवेदनलाई आधार मान्दै औषधि व्यवस्थापन क्षेत्रमा गम्भीर त्रुटि र अनियमितता भएको दाबी गरेका थिए।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया