काठमाडौं। उत्तर कोरियाली जासूसहरूले नक्कली पहिचान बनाएर पश्चिमा देशका रक्षा तथा प्रविधि कम्पनीहरूमा जागिर खाने र त्यहाँबाट अत्यन्त संवेदनशील सुरक्षा डेटा चोरी गर्ने गरेको खुलासा भएको छ ।
गूगल थ्रेट इन्टेलिजेन्सले सार्वजनिक गरेको भर्खरैको प्रतिवेदन ‘बियोन्ड द ब्याटलफिल्ड’ अनुसार किम जोङ उनको शासनमा रहेका यी जासूसहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डीपफेक र ‘ल्यापटप फार्म’ जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी अमेरिकाका १०० भन्दा बढी ठूला कम्पनीमा घुसपैठ गरिसकेका छन् ।
सन् २०१९ देखि उत्तर कोरियाले परम्परागत ह्याकिङको सट्टा ‘आन्तरिक घुसपैठ’ (इन्टरनल इन्ट्रुजन) को रणनीति अपनाएको छ ।
जासूसहरूले सामाजिक सञ्जाल र रोजगार वेबसाइटमा नक्कली प्रोफाइल बनाएर सफ्टवेयर डेभलपर र आईटी इन्जिनियरका रूपमा आवेदन दिने गरेका छन् ।
जागिर पाएपछि उनीहरूले कम्पनीको आन्तरिक नेटवर्कमा पहुँच बनाएर रक्षा दस्तावेज, एआई प्रविधि र संवेदनशील डेटा चोरी गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।
अमेरिकी न्याय विभागले जुन २०२५ मा गरेको कारबाहीमा १६ राज्यका २९ वटा ‘ल्यापटप फार्म’ मा छापा मारिएको थियो ।
त्यस क्रममा केही अमेरिकी दलालहरूलाई पनि पक्राउ गरिएको छ, जसले उत्तर कोरियाली जासूसहरूलाई जागिर दिलाउन र पहिचान प्रमाणित गर्न मद्दत गरेका थिए ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाका अनुसार उत्तर कोरियाले विशेषगरी हतियार निर्माणमा प्रयोग हुने सेमीकन्डक्टर प्रविधि चोरी गर्न ठूलो प्रयास गरिरहेको छ ।
त्यस्तै, उत्तर कोरियाली ह्याकर समूह ‘एपीटी ४३’ ले जर्मन र अमेरिकी रक्षा कम्पनीहरूको हुबहु नक्कली वेबसाइट बनाएर पासवर्ड र व्यक्तिगत जानकारी चोरी गरिरहेको पाइएको छ ।
यो घुसपैठबाट उत्तर कोरियाले ठूलो परिमाणमा विदेशी मुद्रा समेत आर्जन गरिरहेको बताइएको छ ।
विज्ञहरूका अनुसार उत्तर कोरिया अब बाहिरबाट मात्र ह्याक गर्ने शक्ति रहेन, बरु कम्पनीभित्रै कर्मचारी बनेर सुरक्षा संयन्त्र भत्काउने ठूलो खतरा बनेको छ ।
यसले विश्वव्यापी रक्षा आपूर्ति श्रृङ्खला र प्रविधि क्षेत्रमा गम्भीर चुनौती थपिदिएको छ ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया