काठमाडौं । संयुक्त राज्य अमेरिकाले एकैपटक ३५ जना नेपाली नागरिकलाई स्वदेश फर्काएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरूलाई चार्टर विमानमार्फत गत अप्रिल ७ (चैत २४) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
फर्काइएकामध्ये १२ जना अवैध मार्गबाट अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए। मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अन्य व्यक्तिहरूलाई भने विभिन्न आप्रवासन नियम उल्लंघनका कारण डिपोर्ट गरिएको हो।
पछिल्लो दुई महिनाको अवधिमा मात्रै अमेरिकाबाट २०० भन्दा बढी नेपाली नागरिक स्वदेश फर्काइएका छन्।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिकाले आप्रवासन नीतिमा कडाइ गर्दै आएको छ। भिसा प्रक्रिया पूरा नगर्ने, भिसाको म्याद नाघेर बस्ने वा आचरणसम्बन्धी समस्या देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने नीति लागू गरिएको छ।
यस क्रममा केही देशका नागरिकलाई कडा सुरक्षा व्यवस्थासहित फिर्ता पठाइएका घटनाहरू पनि सार्वजनिक हुँदै आएका छन्।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया