काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियानका अगुवा डा. गोविन्द केसीले जेनजी आन्दोलनका घाइतेलाई छात्रवृत्तिमार्फत एमबीबीएस अध्ययनको अवसर दिने विषयमा शिक्षा मन्त्रालयबाट आएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त अभिव्यक्तिले सरकारलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीबारे या त जानकारी नभएको वा जानाजानी कानुनविपरीत निर्णय अघि बढाउने नियत देखिएको टिप्पणी गरेका छन्।

advertisement

उनका अनुसार जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना दिने विषयमा बालेन्द्र शाहको निर्देशनमा सम्बन्धित मन्त्रीहरूको सह–अध्यक्षतामा बसेको २४औं चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट गरिएको निर्णय कानुनविपरीत छ। साथै, शिक्षा मन्त्रालयको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएकाले तत्काल फिर्ता लिन उनले माग गरेका छन्।

यसअघि १ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा घाइते भएकी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गराउने प्रस्ताव अघि सारेको थियो। सो निर्णय कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगको बैठक आह्वान गरिएको थियो। तर, डा. केसीका अनुसार यस्तो प्रस्ताव विद्यमान कानुनी व्यवस्था विपरीत छ।

डा. गोविन्द केसीले एमबीबीएस अध्ययनका लागि सिट निर्धारण, प्रवेश परीक्षा, नतिजा प्रकाशन तथा योग्यताक्रमका आधारमा विद्यार्थी छनोट हुने स्पष्ट व्यवस्था रहेको र यस वर्षका सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गरेका छन्। १९ चैत २०८२ मा प्रकाशित योग्यताक्रम सूचीअनुसार नै भर्ना गरिनुपर्ने कानुनी प्रावधान रहेको र अहिले पठनपाठनसमेत सुरु भइसकेको अवस्थामा नियम मिचेर नयाँ निर्णय गर्न नहुने उनको धारणा छ।

डा. केसीले विधिको शासन कायम राख्न प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई चिकित्सा शिक्षा सम्बन्धी कानुनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। साथै, इच्छित लक्ष्य हासिल गर्न कानुनी वैकल्पिक उपाय खोज्न सरकारलाई सुझाव दिएका छन्।

विज्ञप्तिमा उनले गुणस्तरीय, सुलभ र समतामूलक शिक्षा तथा स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्न आफूहरू लामो समयदेखि संघर्षरत रहेको उल्लेख गरेका छन्। निरन्तरको आन्दोलन र जनदबाबका कारण चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएको र विभिन्न अवरोधका बीच पनि चिकित्सा शिक्षा आयोगले सन्तोषजनक काम गरिरहेको उनको दाबी छ।

सरकारले ऐनविपरीतका निर्णय र अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गर्दै उनले शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विगतका सहमतिहरू कार्यान्वयन गर्न पुनः आग्रह गरेका छन्। अन्यथा सत्याग्रहसहितका आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।

हाल डा. केसी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com