काठमाडौं। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका र इरानबीच इस्लामावादमा भएको वार्ता दुई–तीन महत्वपूर्ण बुँदामा असहमति भएकाले सम्झौतामा पुग्न नसकेको बताएका छन् ।

बीबीसी फारसीलाई दिएको अन्तर्वार्तामा प्रवक्ता बकाईले भने, “पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ वटा अप्रत्यक्ष वार्ताहरू भए । केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग सम्झौतामा पुग्यौं पनि, तर दुई वा तीन विषयमा विचार भिन्नता रह्यो र हामी अन्तिम सम्झौतामा पुग्न सकेनौं ।”

advertisement

उनले असहमतिको विषय के–के थिए भन्ने कुरा भने स्पष्ट पारेनन् । तर, क्षेत्रीय सुरक्षा र हर्मुज जलडमरू जस्ता नयाँ मुद्दाहरू थपिएपछि वार्ता अझ जटिल बनेको उनको भनाइ छ । उनले एकै बैठक वा एकै दिनमा ठूलो सम्झौता हुने अपेक्षा गर्न नहुने पनि बताए ।

प्रवक्ता बकाईले वार्ता “अविश्वास र शंकाको वातावरण” मा सुरु भएको उल्लेख गर्दै ४० दिनको युद्धपछि यस्तो वातावरणमा सम्झौता हुनु निकै कठिन रहेको बताए । “स्वाभाविक रूपमा, एउटै बैठकमा सम्झौता हुने आशा गर्न सकिँदैनथ्यो,” उनले भने ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक प्रयास भने निरन्तर रहने बताएका छन् । उनले भने, “कूटनीति कहिल्यै समाप्त हुँदैन । यो देशको हितको रक्षा गर्ने महत्वपूर्ण माध्यम हो ।” इरानले पाकिस्तान र क्षेत्रका अन्य मित्र राष्ट्रहरूसँग सम्पर्क र संवाद जारी राख्ने पनि उनले स्पष्ट पारे ।

यो भनाइले वार्ता पूर्ण रूपमा असफल नभए पनि दुवै पक्षबीच अझै ठूलो विश्वासको खाडल रहेको र केही मुख्य विषयमा गहिरो असहमति रहेको संकेत गरेको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com