काठमाडौं । पर्साको वीरगन्जमा आइतबार दिउँसो एक प्रहरी जवानको समूहद्वारा निर्घात कुटपिट गरी हत्या गरिएको छ। वीरगन्ज महानगरपालिका–९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया मारिएका हुन्।

घटना सार्वजनिक हुनासाथ पर्सा प्रहरीले तत्काल सक्रियता देखाउँदै हत्यामा संलग्न भएको आरोपमा चार जना युवालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार दिउँसो केही युवाको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गर्दै कुटपिट गरिरहेको सूचना प्राप्त भएको थियो।

advertisement

सूचना प्राप्त भएको केही मिनेटमै प्रहरी टोली घटनास्थल पुगेको र गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाटै संलग्न रहेको आशंकामा चार जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको नाम र ठेगाना अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल सार्वजनिक गरिएको छैन। पर्सा प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान जारी रहेको र वास्तविक कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा एक प्रहरी अधिकारीले यो हत्याको कारण प्रेम सम्बन्धसँग जोडिएको हुन सक्ने संकेत दिएका छन्। मृतक प्रहरी जवानको एक महिलासँग सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com