रौतहट। पर्साको वीरगञ्ज महानगरपालिका-९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका-१ मुडलीका २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला जवान थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज-९ मुरलीस्थित फिरोजा मियाँको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल नारायणी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक चौरसिया वीरगञ्जकै मुरलीमा डेरा गरी बस्दै आएका थिए र १० दिनको बिदा लिएर घर आएका थिए ।
प्रहरीले यो हत्यामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन् ।
घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया