काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो नाममा कुनै जग्गाजमिन नरहेको र सामान्य बैंक बचत तथा केही सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन्।

advertisement

जनस्तरबाट सम्पत्ति विवरण सार्वजनिक गर्न माग उठेपछि त्यसको जवाफस्वरूप उनले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका छन्। “मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि सार्वजनिक गर्छु,” उनले भने, “मेरो नाममा केही छैन। वैदेशिक रोजगारीबाट जोडेको करिब ४–५ तोला सुन र बैंकमा करिब २–४ लाख रुपैयाँ जति होला।”

उनले पैतृक सम्पत्तिका रूपमा खोटाङ जिल्लामा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको स्पष्ट पारेका छन्।

खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा रहेको भिरालो पाखा, खरबारी, बाँस तथा उत्तिसघारीसहितको केही जमिन आमाको नाममा रहेको उनले बताएका छन्। उक्त पैतृक सम्पत्ति बाउबाजेबाट प्राप्त भएको भए पनि हालसम्म दाजुदिदीबीच अंशबन्डा नभएको उनले उल्लेख गरेका छन्।

जनप्रतिनिधिहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था र नागरिक तहबाट उठिरहेका चासोलाई ध्यानमा राख्दै उनले औपचारिक रूपमा विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com