काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उनले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे।
प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भने, “तपाईँको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरु देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ।”
छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिकबीच भेदभाव हुने गरेको गुनासो गरेपछि प्रधानमन्त्रीले त्यसलाई प्रस्ट्याउँदै भने, “यसलाई विभेदका रूपमा नबुझिदिनुहोस्। यो छुट्टै छलफल तपाईँहरूका क्लस्टरका समस्यालाई गहिराइमा पुगेर सुन्न र स्पष्ट ध्यानाकर्षण गराउनका लागि गरिएको हो। यो भेदभाव होइन, बरु तपार्इँले बोक्ने विशिष्ट मुद्दालाई न्याय गर्ने प्रयास हो।”
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए। छलफलमा उठेका तात्कालिक विषयमा ‘फलोअप’ गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’बाट सधैँ खुला रहने उनको भनाइ थियो।
समानुपातिक प्रणालीले संसद्लाई पूर्ण र समावेशी बनाउने उनको धारणा थियो। प्रधानमन्त्री शाहले सांसदलाई कानुन निर्माण र संसदीय समन्वयमा निर्धक्क भएर प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरे।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया