काठमाडौँ । संघीय संसद्अन्तर्गत रहेका संसदीय समितिहरूका सभापतिका लागि आज (वैशाख ३) मनोनयन दर्ता हुँदैछ।
संघीय संसद् सचिवालयका अनुसार मनोनयन दर्ता दिउँसो १ बजेदेखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। सोही दिन साढे ४ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा समिति र दुई संयुक्त समितिमा सभापति चयन हुन बाँकी छ। ती समितिका सभापतिको निर्वाचन भने शुक्रबार (वैशाख ४) हुने तय गरिएको छ।
शुक्रबार दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारको नाम प्रस्ताव गर्ने, समर्थकले समर्थन जनाउने र त्यसपछि निर्णयका लागि प्रस्ताव प्रस्तुत गरिनेछ।
यसअघि चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिका सदस्यहरू चयन गरेको थियो। सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ लाई सभापति निर्वाचनको मिति तोकेका थिए।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित लगायतका समितिहरू रहेका छन्।
यस्तै, संयुक्त समितिहरूमा संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया