काठमाडौं । २१ फागुनको चुनावमा पराजय भोगेपछि नेपालका दुई कम्युनिस्ट दल एमाले र नेकपा बीच फेरि एकताको विषयमा छलफल सुरु भएको छ। यसका लागि दुवै पक्षका नेताहरू सक्रिय रूपमा वार्तामा जुटिरहेका छन्। यसअघि २०७४ सालमा भएको एकता नेतृत्वबीचको विवादका कारण टुटेको थियो। अहिले भने पुनः एकताको सम्भावनाबारे चर्चा अघि बढेको छ।
यसै सन्दर्भमा एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी सुदृढ बनाउनेतर्फ ध्यान दिनुको सट्टा फेरि वाम एकताको प्रयास अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनका अनुसार सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्ने किसिमको एकताले पार्टीलाई फाइदा नपुर्याउने दाबी छ।
पाण्डेले सामाजिक सञ्जालमार्फत एमालेले पुनर्निर्माण गर्दै सक्षम र दक्ष युवाहरूलाई पार्टीमा समेट्नुपर्नेमा जोड दिएका छन्। त्यसो नगरिए पार्टी झन् कमजोर र साँघुरो बन्दै जाने उनको चेतावनी छ।
उनका अनुसार विगतमा वैचारिक आधार बिना गरिएको एकताको नतिजा राम्रो नभएको अनुभव भइसकेको छ। अहिले पनि मौन बस्नु गलत हुने भन्दै उनले पार्टीलाई सत्ता र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर विधि, सुशासन र परिणाममुखी नेतृत्वतर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया