फिलिपिन्स। दक्षिण फिलिपिन्स मा इस्लामवादी उग्रवादी सञ्जालविरुद्ध सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना संदिग्ध लडाकू मारिएका छन् ।
पक्राउ गर्ने प्रयासका क्रममा उनीहरूले प्रतिरोध गरेपछि एक घण्टासम्म चलेको भीषण गोलीबारीमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना मुस्लिम जनसङ्ख्या बढी रहेको दक्षिणी क्षेत्रमा भएको हो ।
त्यहाँ इस्लामिक स्टेटबाट प्रेरित साना समूहहरू अझै सक्रिय रहेका छन् ।
सुरक्षा बलहरू बिहान हुनुअघि मारान्टाओ सहर नजिक पुगेका थिए, जहाँ मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्कालाई पक्राउ गर्ने योजना थियो ।
मङ्गोरान्का र उनको समूहविरुद्ध हत्या, अपहरण तथा अन्य गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तारी वारेन्ट जारी गरिएको थियो ।
तर पक्राउ प्रयाससँगै उनका समूहका सदस्यहरूले प्रतिरोध जनाएपछि सुरक्षाकर्मी र उग्रवादीबीच गोली हानाहान सुरु भएको थियो ।
क्षेत्रीय प्रहरी प्रतिवेदनअनुसार उक्त मुठभेडमा मङ्गोरान्का स्वयं पनि मारिएका छन् ।
घटनामा उनकी श्रीमती र अन्य तीन महिलासहित समूहका सदस्यहरू संलग्न थिए ।
झन्डै एक घण्टा चलेको गोलीबारीपछि सुरक्षा बलले स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
सैन्य स्रोतका अनुसार कारबाहीपछि घटनास्थलबाट एक शिशु जीवित अवस्थामा फेला पारिएको छ ।
उक्त शिशु कसरी त्यहाँ पुगेको भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।
सुरक्षाकर्मीको तर्फबाट भने कुनै हताहत नभएको जनाइएको छ भने घटनास्थलबाट हतियार तथा विस्फोटक सामग्री बरामद गरिएको छ ।
फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनले जारी गरेको विवरणमा उक्त समूह यस वर्षको जनवरीमा चार सैनिकको मृत्यु र एक जना घाइते भएको घटनामा संलग्न रहेको आशङ्का गरिएको उल्लेख छ ।
सैन्य अधिकारीहरूका अनुसार मारिएका लडाकूहरू विगतमा भएका ठूला आक्रमणहरूमा संलग्न सञ्जालकै हिस्सा थिए ।
सैन्य कमान्डर मेजर जनरल येगोर बारोकिलोले ती उग्रवादीहरू मारावी सहरमा भएको ऐतिहासिक घेराबन्दी र त्यसपछिका वर्षहरूमा भएका हिंसात्मक गतिविधिसँग सम्बन्धित रहेको बताए ।
सन् २०१७ को मे महिनामा सयौँ स्थानीय तथा विदेशी लडाकूहरूले मिन्डानाओस्थित मारावी सहर कब्जा गरेका थिए, जसलाई इस्लामिक शासनअन्तर्गत ल्याउने उद्देश्य रहेको थियो ।
उक्त घटनापछि सरकारी फौजले सञ्चालन गरेको पाँच महिनासम्मको कडा सैन्य कारबाहीमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।
अन्ततः उग्रवादी समूहका प्रमुख नेताहरू मारिएपछि घेराबन्दी अन्त्य भएको थियो ।
हालको घटनाले दक्षिण फिलिपिन्समा उग्रवादी गतिविधि पूर्ण रूपमा अन्त्य नभएको सङ्केत दिएको छ ।
सुरक्षा निकायहरूले यस्ता समूहहरू अझै सक्रिय रहेकाले निरन्तर निगरानी र कारबाही आवश्यक रहेको बताएका छन् ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया