काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज गर्ने विषयलाई चरम अलोकतान्त्रिक कदम भएको बताएका छन् । सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

ज्ञवालीले विद्यार्थी संगठन हटाउने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन् । उनका अनुसार यस्तो निर्णयले विश्वविद्यालयको स्वतन्त्रता नै कमजोर पार्नेछ ।

advertisement

उनले पञ्चायतकालमै समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यस्तो कदमप्रति प्रश्न उठाउँदै उपकुलपतिहरूले कसरी यसमा हस्ताक्षर गरे होलान् भन्ने आश्चर्य व्यक्त गरेका छन् ।

ज्ञवालीका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या देखिए पनि, मूल उद्देश्यबाट विचलन भए पनि त्यसलाई निषेध गर्नु समाधान होइन । शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान नभएको बताउँदै उनले संवाद, रचनात्मक सहकार्य र शैक्षिक सुधारका लागि उनीहरूको भूमिकालाई उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । उनले लेखेका छन्, “के तपाईं कपालमा चाया पर्‍यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?”

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com