काठमाडौं । यूएईविरुद्धको टी–२०आई सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल अवरुद्ध भएपछि डिएल मेथडमार्फत यूएईलाई १० ओभरमा ७८ रनको लक्ष्य दिइएको थियो।
उक्त लक्ष्य यूएईले ७ बल बाँकी रहँदा ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो। यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए भने अलीशान शराफूले १८ रन जोडे। नेपालका लागि बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।
यसअघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा अविजित रहे भने सन्दीप लामिछाने २ रनमा नटआउट थिए।
नेपालका अन्य ब्याटरहरूमा कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, सन्दीप जोराले ६, कुशल मल्लले १७, बसिर अहमदले १४, गुल्सन झाले १ र नन्दन यादवले १३ रन बनाए।
यूएईका लागि मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे। साएद हैदर र मुहम्मद अरफानले समान १–१ विकेट लिए। अब नेपाल र यूएईबीचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया