काठमाडौं । अमेरिकी अर्थ मन्त्रालय ले मंगलबार इरानलाई हतियार प्राप्त गर्न सहयोग पुर्याउने १४ व्यक्ति र कम्पनीहरूविरुद्ध नयाँ प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले आफ्नो ब्यालिस्टिक मिसाइल भण्डार पुनः निर्माण गर्ने प्रयास गरिरहेका बेला वासिङ्टनले यो कदम चालेको हो ।
अमेरिकी अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, यी लक्षित व्यक्ति, कम्पनी र विमानहरू इरान, टर्की र संयुक्त अरब इमिरेट्समा छन् । उनीहरूलाई इरानका तर्फबाट हतियार वा तिनका पाटपुर्जाहरू खरिद गर्न वा ढुवानी गर्न संलग्न भएको आरोपमा प्रतिबन्धित गरिएको हो ।
अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता सुरु गर्ने विषयमा गतिरोध कायमै रहेको बेला यो प्रतिबन्ध आएको छ । उक्त वार्ताको उद्देश्य होर्मुज जलमार्ग खुला राख्नु र इरानविरुद्ध अमेरिका–इजरायल युद्धको अन्त्य गर्नु हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविराम समाप्त हुँदैछ । उनले वार्ता सफल नभए पुनः सैन्य कारबाही सुरु गर्न तयार रहेको चेतावनी दिएका छन् ।
अमेरिकी अर्थ मन्त्रालयले भनेको छ, “अमेरिकाले इरानको ब्यालिस्टिक मिसाइल भण्डारलाई नष्ट गर्ने काम जारी राखेकाले, इरानी प्रशासनले आफ्नो उत्पादन क्षमता पुनः स्थापित गर्न खोजिरहेको छ ।”
इरानले अमेरिका र यसका सहयोगीहरू, विशेष गरी यस क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउन ‘शाहेद–श्रृंखला’का ‘मानवविहीन आत्मघाती ड्रोन’ माथिको निर्भरता बढाउँदै लगेको अमेरिकाको दाबी छ ।
यो प्रतिबन्धले इरानको सैन्य आपूर्ति श्रृंखलालाई कमजोर बनाउने र उसलाई वार्ताको टेबलमा दबाब सिर्जना गर्ने अमेरिकी रणनीतिको संकेत गर्ने बताइएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया