काठमाडौं । उम्मेदवारी दर्ता गर्नुभन्दा केही घण्टा मात्र अगाडि सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा) का लागि त्यो निर्णय फलदायक भएन । स्वयम् पार्टी अध्यक्ष उपेन्द्र यादव नै मधेसमा उदीयमान शक्ति जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित हुन पुगे ।

राउत ३५०४२ मतका साथ विजयी हुँदा उपेन्द्र १६९७९ मतमा सीमित भए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आफूलाई अपमान भएको बताउँदै उनी एमालेसँग गठबन्धन गर्न पुगेका थिए । तर, उनको त्यो निर्णयलाई मधेसी जनताले अस्वीकृत गरिदिएका छन् ।

चुनाव प्रचारका क्रममा पनि सत्ता गठबन्धन छोडेको विषयमा उठेको प्रश्नको जवाफमै उनको दैनिकी बित्ने गरेको थियो । मतपरिणाम आउँदा पनि त्यसको असर देखिएको छ ।

२०६३ को माघमा तत्कालीन अन्तरिम संविधान जलाएर एकाएक मधेस राजनीतिको केन्द्रबिन्दु बनेका यादवलाई विखण्डनकारी राजनीतिबाट मूलधारको राजनीतिमा अवतरण गरेका राउतले पहिलो प्रयासमै पाखा लगाइदिएका छन् ।

यो चुनावमा यादव आफू मात्र पराजित भएका होइनन्, २०७४ को शक्ति पनि अहिले उनीसँग छैन । न त उनको पार्टीले संघीय संसद्‌मा राम्रो उपस्थिति जनाउने अवस्था बनेको छ, न त मधेसको सत्ता नेतृत्वलाई निरन्तरता दिने ।

त्यसो त उपेन्द्रलाई कांग्रेससँगको गठबन्धन पनि फापेको थिएन । स्थानीय तहको चुनावमा जसपाको भाग परेको विराटनगर महानगरमा उनका छोरा अमेन्द्र यादव उपमेयरमा पराजित भए । जबकि त्यसबेला मेयरमा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका थिए । त्यति मात्र होइन, जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि जसपाका उम्मेदवार कांग्रेसका बागीसँग पराजित भएका थिए ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com