काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता तथा भ्रष्टाचारको आरोपमा तत्कालीन प्रधानाध्यापक र लेखापालसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानअनुसार आर्थिक वर्ष २०७८–०७९ मा विद्यालयमा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापनका नाममा सामग्री खरिद गरिएको देखाइए पनि ती सामग्री विद्यालयमा आपूर्ति नै नगरी भुक्तानी लिइएको पाइएको छ।

advertisement

यसरी ४ लाख ८८ हजार ८११ रुपैयाँ २४ पैसा बराबरको सामग्री खरिद नै नभएको अवस्थामा रकम निकासा गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै, सूचना प्रविधि सामग्री खरिदपछि सञ्चालनका लागि कुनै तालिम नदिई झुटो बिल तथा भरपाई तयार गरी थप २ लाख २० हजार रुपैयाँ हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ।

विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाइएको शुल्क ५४ हजार ८८१ रुपैयाँ ५९ पैसा बैंकमा दाखिला नगरेको तथा बेरुजु फर्छ्यौटका नाममा ३ लाख १२ हजार ६१ रुपैयाँ १५ पैसा बिना भौचर र बिना उद्देश्य विद्यालय खाताबाट झिकेर व्यक्तिगत रूपमा प्रयोग गरिएको पनि भेटिएको छ।

कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले सोही बराबरको बिगो असुल र जरिवानाको माग गरेको छ।

मुद्दा दायर गरिएकामा विद्यालयका तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकी प्रमुख अभियुक्तका रूपमा रहेका छन्।

उनीहरूविरुद्ध बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको छ।

यस्तै, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसीविरुद्ध पनि सामग्री आपूर्ति नगरी रकम निकासा गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, मुसिकोट नगरपालिकाका शाखा अधिकृत विनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीलाई समेत भ्रष्टाचारमा संलग्न भएको भन्दै कारबाहीको माग गरिएको छ।

त्यसैगरी, दाङको डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठविरुद्ध पनि मतियारको रूपमा ७ लाख ८ हजार ८११ रुपैयाँ २४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको सजाय र बिगो असुल उपर गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com