काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच जारी युद्धविरामको अवधि थप तीन साताका लागि बढाइएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा इजरायली र लेबनानी प्रतिनिधिहरूसँग भएको उच्चस्तरीय वार्तापछि बिहीबार उनले उक्त जानकारी दिएका हुन्।
यसअघि दुई देशबीच भएको १० दिने युद्धविराम सम्झौताको म्याद सकिन लागेका बेला अमेरिकाको सक्रिय मध्यस्थतामा नयाँ सहमति भएको हो। अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार वासिङ्टनमा सम्पन्न वार्ताले स्थायी शान्तिका लागि आवश्यक आधार तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
ह्वाइट हाउसमा भएको छलफल सकारात्मक रहेको र दुवै पक्ष शान्ति प्रक्रियालाई अगाडि बढाउन सहमत भएको बताइएको छ। साथै, राष्ट्रपति ट्रम्पले छिट्टै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमा स्वागत गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
यो नयाँ सहमतिको मुख्य उद्देश्य दुई देशबीचको सैन्य तनाव घटाउँदै दीर्घकालीन समाधानतर्फ अघि बढ्नु हो। यद्यपि, पछिल्ला दिनहरूमा युद्धविराम कार्यान्वयनमा केही चुनौती देखिए पनि अमेरिकाले लेबनानलाई सुरक्षा सुदृढ गर्न र हिजबुल्लाहका गतिविधि नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
तर, युद्धविराम अवधि थपिए पनि क्षेत्रीय सुरक्षा चुनौतीहरू अझै कायम छन्। इजरायलले आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेको छ भने लेबनानले राष्ट्रिय सार्वभौमसत्ता र भू-भागको सुरक्षालाई मुख्य सर्तका रूपमा अघि सारेको छ।
अमेरिकाले यो तीन साताको समयलाई दुवै देशबीचको तनाव कम गर्दै कूटनीतिक संवादमार्फत स्थायी शान्ति सम्झौताका लागि अवसरका रूपमा लिएको छ। यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव कम गर्न र युद्धको असर भोगिरहेका नागरिकहरूमा शान्तिको आशा जगाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया