काठमाडौं। दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्।
उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट विश्वासपात्रमध्ये एक मानिन्छन्।
उनी भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने कार्यक्रम रहेको बताइएको छ। नेपालमा उनी करिब चार दिन रहने योजना छ।
यस भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन्।
उक्त भेटमा सर्जियो गोरको नेपाल भ्रमणका विषयमा छलफल भएको भारतीयस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
नेपाल भ्रमणका क्रममा सर्जियो गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
स्रोतका अनुसार जेठ १ गते प्रधानमन्त्रीसँग भेट हुने कार्यसूची तयार गरिएको छ। तर प्रधानमन्त्री कार्यालयले भने हालसम्म भेट निश्चित नभएको जनाएको छ।
प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र अमेरिकी राजदूतबीच भेट हुने कुनै औपचारिक कार्यक्रम तय नभएको र यस विषयमा कुनै आधिकारिक जानकारी नआएको बताएका छन्।
केही दिनअघि नेपाल आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री एस. पावल कपुरले पनि प्रधानमन्त्रीसँग भेट गर्ने प्रयास गरेका थिए।
तर प्रधानमन्त्री कार्यालयबाट समय उपलब्ध नभएपछि भेट हुन सकेको थिएन। सो भ्रमण वैशाख ७ गते सुरु भई ९ गते सम्पन्न भएको थियो।
त्यस क्रममा उनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरेका थिए। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि भेटघाट भएको बताइएको छ।
अमेरिकाले नेपालमा रहेका आफ्ना पूर्वराजदूतलाई फिर्ता बोलाएपछि सर्जियो गोरले भारतबाट नेपाल मामिला हेर्दै आएका छन्।
नेपालमा करिब चार महिनादेखि स्थायी अमेरिकी राजदूत नरहेको बताइएको छ।
कूटनीतिक स्रोतका अनुसार वर्तमान कार्यवाहक राजदूत भए पनि नेपालसँग सम्बन्धित महत्वपूर्ण मामिला भारतमा रहेका अमेरिकी राजदूतमार्फत समन्वय हुँदै आएको छ।
कूटनीतिज्ञहरूका अनुसार सर्जियो गोरको यो भ्रमण सामान्य कूटनीतिक भ्रमण मात्र नभई रणनीतिक महत्वको पनि हुन सक्छ।
केही विश्लेषकहरूले यसलाई नेपाल–अमेरिका सम्बन्ध तथा क्षेत्रीय भू–राजनीतिक सन्तुलनसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
समग्रमा, सर्जियो गोरको नेपाल भ्रमणलाई कूटनीतिक वृत्तमा महत्त्वपूर्ण चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया