काठमाडौं । पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले रास्वपाका सांसद विश्वराज पोखरेलसँग सम्बन्धित एक भिडियो सार्वजनिक भएपछि तीव्र आलोचना गरेका छन्।
शुक्रबार सार्वजनिक भएको उक्त भिडियोमा पोखरेलले विद्यालयका प्रधानाध्यापक आफूलाई गेटसम्म स्वागत गर्न नआएको विषयमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ। यही विषयलाई लिएर पुनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्।
पुनले सांसदको व्यवहारप्रति आपत्ति जनाउँदै लेखेका छन् कि सांसद जनताको सेवक भएकाले उनीहरूले व्यक्तिगत सम्मानको अपेक्षा गर्नु उपयुक्त हुँदैन। उनले भने, ‘यदि म यिनको पार्टीको नेता भएको भए, तत्काल पदबाट हटाएर घर फर्काउने थिएँ। सांसदको कर्तव्य जनताको काम गर्नु हो, व्यक्तिगत प्रतिष्ठा खोज्नु होइन।’
उनले थप टिप्पणी गर्दै यस्तो व्यवहारले जनप्रतिनिधिको मर्यादामाथि आघात पुर्याएको उल्लेख गरेका छन्। ‘बाटोमा स्वागत नगरेको विषयलाई लिएर सार्वजनिक रूपमा धाक देखाउनु गलत हो। या त तुरुन्त माफी माग्नुपर्छ, होइन भने जनताले नै जवाफ दिनुपर्छ,’ पुनले भने।
उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि पोखरेलको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया