काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुमवासी परिवार पुगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेका परिवारहरूको विवरण संकलन गरिरहेको छ। थापाथली, गैरीगाउँलगायत क्षेत्रबाट विस्थापित भएका सुकुमवासीहरू क्रमशः होल्डिङ सेन्टरमा पुगिरहेका छन्।
विस्थापित परिवारहरूको तत्काल स्वास्थ्य आवश्यकता पूरा गर्न काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा अस्थायी स्वास्थ्य सेवा व्यवस्था गरेको छ। बबरमहल (वडा–११), भीमसेनगोला (वडा–३१) र पेप्सीकोला (वडा–३२) स्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखी प्राथमिक उपचार सेवा प्रदान भइरहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार होल्डिङ सेन्टरमा पुगेका सुकुमवासीहरूलाई आवश्यक प्राथमिक उपचारसमेत उपलब्ध गराइएको छ।
यसैबीच, सरकारले शनिबार बिहानदेखि काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउने अभियान सुरु गरेको छ। वाग्मती नदी किनार क्षेत्रका बस्तीहरू क्रमशः खाली गराइँदै गएको जनाइएको छ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया