काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान भत्काइने हल्लामा सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले मैदानलाई जोगाउँदै नयाँ सम्झौतामार्फत लिज अवधि नवीकरण गर्ने तयारी भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले त्रिविका उपकुलपतिसहित पदाधिकारीहरूसँग यस विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।
उनले सरकारको उद्देश्य मैदान खाली गराउने नभई कानुनी प्रक्रिया पूरा गर्दै सम्झौता नवीकरण गर्नु रहेको बताए। आज मेरो त्रिविका उपकुलपतिलगायत पदाधिकारीहरूसँग कुरा भएको छ। खाली गराउने हाम्रो उद्देश्य होइन। लिजमा लिइएको जग्गा भएकाले नवीकरण गर्नुपर्नेछ। यसबारे सकारात्मक कुरा भएको छ, उनले भने।
मन्त्री पोखरेलका अनुसार मैदान भत्काउने कुनै योजना नरहेको र नयाँ सहमतिसहित पुनः लिज सम्झौता गरिनेछ। राज्यको धेरै लगानी भइसकेको छ। दुवै पक्ष राज्यकै निकाय हुन्, त्यसैले भत्काउने कुरा हुँदैन। नवीकरण गरेर लिजमा दिनुपर्छ, उनले स्पष्ट पारे।
उनले क्रिकेट मैदान निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले त्यसलाई संरक्षण गर्दै खेलकुद पूर्वाधारको रूपमा विकास गरिने बताए।
यसअघि त्रिविले विश्वविद्यालयको जग्गामा रहेका विभिन्न १८ संस्थालाई आइतबार ३५ दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिएको थियो। त्रिवि र क्यानबीच भएको २५ वर्षे लिज सम्झौताको अवधि यही वैशाख मसान्तमा सकिन लागेको छ।
सरकारको पछिल्लो धारणा सार्वजनिक भएपछि कीर्तिपुर क्रिकेट मैदानको भविष्यलाई लिएर उठेका आशंका केही हदसम्म हट्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया