काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सेवक बन्न राजनीतिमा आएको भन्दै ‘मालिक बन्ने सोच भएकाहरूका लागि रास्वपा उपयुक्त ठाउँ नभएको’ बताएका छन् ।

ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले केही दिनअघि एक स्थानीय तहमा प्रधानाध्यापकले स्वागत नगरेको विषयमा गरेको कडा व्यवहारप्रति उठेको विवादबारे प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन् । उक्त घटनापछि व्यापक आलोचना भएपछि सांसद पोखरेलले सार्वजनिक रूपमा क्षमासमेत मागिसकेका छन् ।

advertisement

सोही प्रसंगमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘जसलाई मालिक बन्न मन छ, उसका लागि रास्वपा होइन। हामी मालिक होइनौँ, सेवक हौँ। यो कुरा सबैले बुझ्नुपर्छ।’

उनले घटनामा माफी मागिसकिएको उल्लेख गर्दै पार्टीका अन्य सदस्यहरूलाई पनि आफ्नो व्यवहारप्रति सचेत रहन आग्रह गरे । ‘मानसिक रूपमा जे सोचिए पनि अभिव्यक्त गर्दा जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

लामिछानेले आफूहरू पद वा शक्तिको होइन, जनताको सेवामा केन्द्रित भएर राजनीतिमा आएको दाबीसमेत गरे ।

यसैबीच, सिन्धुलीमा प्रहरी हिरासतमा एक दलित व्यक्तिको मृत्यु भएको घटनाबारे रास्वपा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर पनि लामिछानेले पीडित पक्षको आवाजलाई गम्भीरतापूर्वक सुन्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com